चकित पार्ने सिन्धुलीको घटना : हायू परिवारका १६ सदस्य तीन दिनदेखि सम्पर्कविहीन

Spread the love

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट उर्मिला हायूको १६ सदस्यीय परिवार तीन दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएको छ। सोमबार बिहान घटना सार्वजनिक भएपछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरूको टोलीले खोजी थालेको छ, तर अहिलेसम्म कुनै ठोस सुराकी फेला परेको छैन।

शुरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीलाई सूचना अपत्यारिलो लागे पनि तत्काल टोली खटाइयो। पहिलो टोलीले घटनास्थल पुगेर १६ जना बेपत्ता भएको पुष्टि गरेपछि थप प्रहरी खटाइयो।

जंगलको छेउमा एक्लो घर, खालि भान्सा

उर्मिला हायूको परिवार बस्ने घर जंगलले घेरिएको एक्लो स्थानमा छ। जस्ताले छाएको घर, रातो माटोले लिपिएको भित्तो, खरको भान्सा—भित्र आगोले डढेका काठ र छरपस्ट भाँडावर्तन देखिएका थिए। घरमा पालिएका कुखुरा, बाख्रा र कुकुर भोकभोकै थिए।

तीन दिनदेखि सम्पर्कविहीन

वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार, उर्मिलाको परिवारले नजिकै डाँडामा गोठ बनाएर एउटा पाडी पालेका थिए। तर, तीन दिनदेखि गोठमा नपुगेपछि छिमेकीहरूले खोजी गर्दा घरमा कोही नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। सबैको मोबाइल स्विच अफ थियो।

सामाजिक सुरक्षा भत्ता बुझेपछि हराए

वडाध्यक्ष श्रेष्ठका अनुसार, हायू परिवारले गत बिहीबार मात्रै हिमालयन बैंक, खुर्कोटबाट सामाजिक सुरक्षा भत्ता बुझेका थिए। १८ जनाको नाममा भत्ता लिइएको थियो। ९ गते भत्ता नवीकरणको निवेदनसमेत दिएका थिए।

घरमा करिब पाँच किलो मासु भेटिएकाले सुँगुर काटेर खाएको अनुमान गरिएको छ। घरअगाडि अबिरको घेरा पनि भेटिएको छ, जसको कारण खुल्न सकेको छैन।

प्रहरीको खोजी प्रयास

घटनाबारे सूचना पाएपछि प्रहरीले घर वरपरको जंगल, खोला, खहरे, बारीलगायत स्थानमा व्यापक खोजी गरेको छ। तर, कुनै संकेत फेला परेको छैन।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार, हराएको दिन अर्थात् शुक्रबार साँझ ५:१९ बजे ग्वालटार बजारमा एक अटो चालकसँग हायू परिवारका एक सदस्यको कुराकानी भएको भेटिएको छ। चालकले उनीहरूलाई घरतर्फ छाडेको बताएका छन्।

अन्तिम लोकेसन रामेछापमा

प्राविधिक विश्लेषणबाट हायू परिवारको अन्तिम मोबाइल लोकेसन रामेछापको सिमन्दीछापमा देखिएको प्रहरीले जनाएको छ। त्यसपछि रामेछाप प्रहरीको समेत सहयोगमा खोजी गरिए पनि उनीहरू फेला परेका छैनन्।

ऋणको सम्भावित कारण

एसपी सुवेदीका अनुसार, परिवारसँग करिब ४/५ लाख रुपैयाँको लघुवित्त ऋण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यही ऋणका कारण परिवार सम्पर्कविहीन भएको हुनसक्ने आशंका गरिएको छ। तर, यकिन कारण पत्ता लाग्न बाँकी नै छ।

आफैं बेपत्ता भएको आशंका

प्रहरी अनुसन्धानका अनुसार, १६ जना एकैपटक हराउनुमा तेस्रो पक्षको संलग्नता सम्भावना न्यून छ। किनमेल गर्नु, भत्ता बुझ्नु, मासु खानु र त्यसपछि सम्पर्कविहीन हुनुको क्रम हेर्दा आफैं योजनाबद्ध रूपमा हराएको हुनसक्ने बताइएको छ।

अनुसन्धान जारी

बेपत्ता परिवारका आफन्त पोखरा र बाग्लुङमा छन्। बाग्लुङका ज्वाईं केही दिनअघि मात्र सिन्धुली आएका थिए। उनीहरूमध्ये कतै गएका हुन् कि भन्ने आशंकामा ती स्थानहरूमा समेत खोजी भइरहेको छ।

प्रहरीले मंगलबारदेखि पुनः व्यापक खोजी अभियान सञ्चालन गर्ने जनाएको छ। घटनाले स्थानीयवासीदेखि सुरक्षा निकायसम्ममा चिन्ता र कौतूहल पैदा गरेको छ।

News from Onlinekhabar

Leave a Comment