लोडसेडिङको आलोचना बढेपछि चनौली वितरण केन्द्रको प्रष्टिकरण: “मंगलबारसम्म समस्या समाधान हुने”

Spread the love

चितवन, साउन १० –

हालै सार्वजनिक गरिएको लोडसेडिङ तालिकाप्रति आलोचना बढेसँगै नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले मंगलबारसम्म समस्या समाधान हुने जनाएको छ।

प्राधिकरणले आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टासम्म लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले लोड व्यवस्थापनमा देखिएको प्राविधिक समस्या मंगलबारसम्म वैकल्पिक उपायमार्फत समाधान गरिने जानकारी दिए।

उनका अनुसार चनौली वितरण केन्द्रमा हाल १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमार्फत ३०० एम्पियरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने समस्या छ। तर, हाल सो क्षेत्रमा ४५० एम्पियरभन्दा बढी लोड देखिएकाले अस्थायी रूपमा लोडसेडिङ गर्नुपरेको हो।

प्रमुख झाले पूर्वी चितवनको हर्दीमा निर्माणाधीन २४ मेगावाट क्षमताको सबस्टेशनको काम सोमबारसम्म पूरा हुने बताए। उनले भने, “हर्दी स्टेशन सञ्चालनमा आएपछि भरतपुर, माडी, टाँडी, पर्सा र भण्डारासम्मको विद्युत समस्या ठूलो मात्रामा कम हुनेछ।”

उनका अनुसार हर्दीबाट विद्युत आपूर्ति गरेर भरतपुर पर्साको लोड घटाइनेछ र देवनगर सबस्टेशनमार्फत विद्युत् वितरण गरिनेछ। देवनगर ३३ केभी स्टेशनबाट सीधै जगतपुरसम्म विद्युत् पठाएर चनौलीको लोड घटाउने तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

“जगतपुरमा विद्युत् आपूर्ति सुरु भएपछि माडी र आसपासका क्षेत्रमा नियमित विद्युत् सेवा बहाल हुनेछ,” उनले भने।

चनौलीको लोड व्यवस्थापन गर्न हाल भरतपुर–चनौली ३३ केभी प्रसारण लाइनको निर्माण पनि तीव्र गतिमा भइरहेको छ। प्रमुख झाले अबको ६ महिनाभित्र चनौलीमा अर्को ३३ केभी लाइन थपिने बताउँदै त्यसपछि स्थायी रूपमा लोडसेडिङ अन्त्य हुने विश्वास व्यक्त गरे। उनका अनुसार हाल सो कामको करिब ८० प्रतिशत प्रगति भइसकेको छ।

अन्त्यमा उनले जनतालाई ढाँटेर नभई वास्तविक अवस्था जानकारी दिँदै समयमै सूचना प्रकाशन गर्नु नै जिम्मेवारी सम्झेर तालिका सार्वजनिक गरिएको स्पष्ट पारे।

Leave a Comment