कम्युनिस्ट एकता जनताले अनुमोदन गरे पनि टिक्न सकेन : प्रचण्ड

Spread the love

काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट एकताको प्रयास जनताले अनुमोदन गरे पनि त्यो लामो समयसम्म टिक्न नसकेको गुनासो गरेका छन्।

शनिबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट एकता टिक्न नसकेको कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए।

“संविधान निर्माणपछि समाजवादी विचार बोकेका शक्ति एक भएर अघि बढ्नुपर्छ भनेर मैले एकताको प्रस्ताव राखेको थिएँ,” प्रचण्डले भने, “त्यो प्रस्ताव जनताले अनुमोदन गरे, कार्यकर्ताहरूले पनि साथ दिए। तर, दुर्भाग्यवश त्यो एकता लामो समय टिक्न सकेन।”

उनका अनुसार तीन वर्षजति प्रयासपछि एकता फेरि विभाजनमा परिणत भयो। “कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ खोज्न जरुरी छ,” उनले स्पष्ट पारे, “अन्यथा आदर्शका नाममा गरिएको एकताको चर्चा अर्थहीन हुन्छ।”

उनले इतिहासमा पनि कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सुरु गरेको इन्टरनेसनल कम्युनिस्ट एकता टिकाउन नसकेको उदाहरण दिँदै वास्तविकताको धरातलमा उभिएर अघि बढ्नुपर्नेमा जोड दिए।

अब पुष्पलाललाई ‘केन्द्रबिन्दु’ बनाएर एकता गर्नुपर्ने प्रस्ताव गर्दै प्रचण्डले भने, “अन्य नेताको भरमा एकता हुने स्थिति छैन। पुष्पलालको विचार र मार्गदर्शनमा आधारित पार्टी निर्माण गर्न सके मात्रै एकता सम्भव छ।”

दलाल पुँजीवादप्रति कडा आलोचना

कार्यक्रममा बोल्दै प्रचण्डले देशमा दलाल पुँजीपति र बिचौलियाले राष्ट्रको अर्थतन्त्र र विकास प्रक्रियालाई कब्जा लिएको आरोप लगाए। “नेपालको समृद्धिमा मुख्य बाधक भनेको नोकरशाही पुँजीवाद हो,” उनले भने, “केही मुट्ठीभर दलालहरूका कारण सम्पूर्ण व्यवस्था धराशायी बन्दै गएको छ।”

संघीय निजामति सेवा विधेयकमाथि भएको ‘छेडछाड’को प्रसंग उल्लेख गर्दै उनले सांसदहरूलाई अपमानित बनाउने खेल चलिरहेको आरोप लगाए।

ओलीसँगको एकताको कथा

कम्युनिस्ट एकता प्रस्ताव आफूले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखेको उल्लेख गर्दै प्रचण्डले भने, “मैले उहाँलाई प्रधानमन्त्री तपाईं बन्नुस् भनेको थिएँ। त्यसपछि उहाँको अनुहार उज्यालो भएको म अहिले पनि सम्झन्छु।”

उनले पार्टी एकता र समाजवादको यात्राका लागि प्रधानमन्त्रीको पद आफू नलिने निर्णय गरेको उल्लेख गरे। “पार्टी जिम्मेवारी मलाई दिउँ, प्रधानमन्त्री तपाईं बन्नुस् भनेको थिएँ,” उनले बताए।

प्रचण्डले राष्ट्रिय सभामा नेकपा एकतापछि आयोजित बैठकको स्मरण गर्दै भने, “९० प्रतिशत नेताहरू उत्साहित थिए। मलाई गर्व लागिरहेको थियो।” तर, त्यसको केही दिनमै पशुपति क्षेत्रको एक होटलमा एमाले नेताहरूले बैठक बसी ‘एमाले सिध्याउने’ भन्दै षड्यन्त्र सुरु गरेको आरोप समेत लगाए।

“त्यसपछि सुरु भयो लडाइँ। यही हो हाम्रो चरित्र,” प्रचण्डले गहिरो व्यंग्य गरे।

Leave a Comment