महोत्तरी, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा विद्यमान खानेपानी र सिँचाइको गम्भीर समस्यालाई समाधान गर्न सरकार तत्काल ५०० वटा डिप बोरिङ जडान गर्ने तयारीमा रहेको बताएका छन्।
महोत्तरीको मटिहानी नगरपालिका–८ मा विग्ही नदीमाथिको पुल र वडा नं. ६ मा निर्मित प्रसूति गृह उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त मधेसका विभिन्न स्थानमा डिप बोरिङमार्फत तत्काल पानी पुर्याउने योजना सार्वजनिक गरे।
प्रधानमन्त्री ओलीले हवाई निरीक्षणको क्रममा मधेसका अधिकांश जमिन सुक्खा अवस्थामा देखिएको भन्दै आठ वटै जिल्लामा सिँचाइ र खानेपानीको व्यवस्था गर्न संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सप्तरीमा कोशी नदीको नजिक भएकाले तुलनात्मक रूपमा समस्या कम भएको बताए पनि बाँकी सात जिल्लामा संकट गम्भीर रहेको स्पष्ट पारे।
“मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा भइसकेको छ,” उनले भने, “अब पानीको अभावबाट प्रभावित किसान र नागरिकलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याइनेछ। दीर्घकालीन तथा तत्कालीन उपायमार्फत समस्या समाधान गरिन्छ।”
दीर्घकालीन योजनाको सन्दर्भमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रमा ताल, तलैया तथा पोखरी निर्माण गरेर भू-जल पुनर्भरण (रिचार्ज) गरिने र जमिन सुक्खिन नदिनेतर्फ योजना अघि बढाउने जानकारी दिए।
उनले सर्लाही र महोत्तरीका सुक्खा खेत र सुकेका पोखरीहरूको स्थलगत अवलोकन गरेको उल्लेख गर्दै सबै सरकारी तथा गैरसरकारी निकायसँग सहकार्यमा जान सरकार तयार रहेको बताए।
साथै, प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रप्रति पनि जोड दिँदै भने, “जहाँ शिक्षा छ, त्यहाँ समृद्धि छ; जहाँ छैन, त्यहाँ गरिबी र अभाव छ।” उनले अभिभावकहरूलाई छोराछोरीबीच विभेद नगरी विद्यालय पठाउन आग्रह गरे र शिक्षालाई नै विकासको आधार स्तम्भका रूपमा लिनुपर्नेमा जोड दिए।