प्रधानमन्त्री ओलीद्वारा भोली पर्सा र बाराको सुख्खाग्रस्त क्षेत्रको निरीक्षण, राहत प्याकेजको अपेक्षा

Spread the love

श्रावण ८ –

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मधेस प्रदेश अन्तर्गत पर्ने सुख्खाग्रस्त पर्सा र बाराको हवाई तथा स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। निरीक्षणको क्रममा प्रधानमन्त्रीले दुवै जिल्लाका ग्रामीण भेगहरूमा पुगेको सुख्खा र त्यसले पारिरहेको असरको प्रत्यक्ष अवलोकन गर्नेछन्।

नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको उद्घाटन कार्यक्रमका लागि आउन लागेका हुन्। उक्त अवसरमा उनी पर्सा र बाराको विभिन्न प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्दै स्थानीय अवस्थाबारे जानकारी लिनेछन्।

“प्रधानमन्त्रीज्यूको निरीक्षणपछि यहाँको जनजीवन सुधारका लागि विशेष राहत प्याकेज घोषणा हुने अपेक्षा गरिएको छ,” सचिव दासले जानकारी दिए। उनका अनुसार यो भ्रमणले सरकारलाई विपद्को सही मूल्याङ्कन गर्न र पुनःस्थापना एवं राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउनेछ।

यसअघि बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। सो निर्णयले सुख्खा र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित बासिन्दाहरूलाई शीघ्र राहत र सहयोग प्रदान गर्न मार्ग प्रशस्त गरेको छ।

पछिल्लो समय मधेस प्रदेशका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा लामो समयदेखि पानीको अभाव र वर्षा नहुनाले खेतीपाती, पशुपालन र स्थानीय जनजीवन गम्भीर प्रभावित बनेको छ। सिँचाइको सुविधा अभावका कारण अधिकांश कृषक वर्ग संकटमा परेका छन्।

प्रधानमन्त्रीको निरीक्षण भ्रमण र सम्भावित राहत घोषणाले प्रभावित क्षेत्रमा आशाको सञ्चार गराएको छ। स्थानीय बासिन्दाहरू सरकारको सक्रिय सहभागिता र राहत प्रयासप्रति सकारात्मक अपेक्षा राखेका छन्।

Leave a Comment