वीरगञ्ज, साउन ८ ।
रौतहटमा खेतमा सिँचाइका लागि पानी लगाउने क्रममा करेन्ट लागेर एक साताभित्र तीन जना किसानको मृत्यु भएको छ।
बुधवार (साउन ७) बिहान मात्रै दुई जना किसानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
माधवनारायण नगरपालिका–४ बिसनपुरवा मानपुरका ४० वर्षीय रामबाबु मुखिया खेतमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा त्यहीं मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए।
त्यस्तै, कटहरिया नगरपालिका–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवान पनि आफ्नै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उपचारका क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा उनको निधन भएको प्रहरीले जनाएको छ।
यसअघि, गत असार ३१ गते मौलापुर नगरपालिका–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो।
यस वर्ष तराई क्षेत्रमा परेको खडेरीका कारण किसानहरू धान रोप्न मोटरबाट पानी तानेर सिँचाइ गर्न बाध्य भएका छन्। विद्युत सुरक्षा उपायको अभावमा पटक–पटक यस्ता दुर्घटना भइरहेकाले स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन्।