रौतहटको गरुडामा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

Spread the love


रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक एक ब्रेजा कारबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ। मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको नेपाली नम्बर प्लेटको ब्रेजा कारमा गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँचका लागि कार रोक्न खोज्दा चालक गाडी हुइँक्याउँदै फरार भएका थिए। प्रहरीले पछ्याउँदै जाँदा झाझ खोला नजिकको करिब २० फिट गहिरो खेतमा गाडी फालिएको अवस्थामा भेटिएको थियो।

गाडीसँगै प्रतिबन्धित लागूऔषध गाँजा रहेको सूचना पाएपछि प्रहरीले सशस्त्र खोजी अभियान सुरु गरेको छ। क्रेनको सहारामा कारलाई खेतबाट निकालिएको छ। कारको भित्री भागमा ठूलो परिमाणमा गाँजा देखिए पनि सटीक मात्राबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार चालक उखुबारी हुँदै फरार भएका छन्। गाँजाको स्रोत र कारोबारी पहिचान गर्न प्रहरीले गहन अनुसन्धान थालेको बताइएको छ।

News from Yatra Daily News

Leave a Comment