काठमाडौँ ।
खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आइतबार राति मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको छड्के अनुगमन गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रमा निरीक्षण गरेका मन्त्री यादवले मेलम्ची परियोजनाको प्रगति बारे प्रत्यक्ष जानकारी लिएका थिए।
अनुगमनका क्रममा उनले आयोजनासँग संलग्न प्राविधिक टोलीलाई तत्काल पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) सम्पन्न गरी मेलम्चीको पानी वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिए।
उनले बालुवाटार क्षेत्रमा बिछ्याइएको ३१५ मिमि व्यासको प्राइमरी पाइपलाइन र २८० मिमि व्यासको एचडीपीई पाइप तेर्सो दिशात्मक ड्रिलिङ (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि दिए।
“मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायत क्षेत्रको पाइपलाइन बिछ्याउने काम सफल भएको छ। अब चाँडै पानी वितरण सुरु गर्न निर्देशन दिइएको छ,” मन्त्री यादवले भने।
पाइपलाइनको प्रेसर टेष्टको तयारी अन्तिम चरणमा रहेको र परीक्षण सफल भएपछि डिएमए H2, I3, I4 र I5 अन्तर्गतका क्षेत्रहरू — बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वंशीधर मार्ग पश्चिम तथा सुवर्ण शमशेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (PID) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए।
पानी वितरणपछि करिब ३,५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
आयोजना प्रबन्धक अमित रञ्जितका अनुसार उपत्यकावासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुसार परियोजना अगाडि बढाइएको हो।
News from Rato Pati